जब टंकप्रसाद आचार्यलाई चार पाटा मुडेर टुँडिखेल घुमाइयो
बाहुन भएर बाँचिस्, नत्र हेर्, तेरो छाला काडेर चौटाचौटा पारेर कौवा, चील र गिद्धलाई ख्वाउँथें, बुझिस् । तर के गर्नु, बाहुन भएर बाँचिस्’, १९९७ सालमा प्रजातन्त्रका योद्धा टंकप्रसाद आचार्यलाई हेरेर बहादुर शमशेर रिसको आवेगले काम्दै मुर्मुरिएको दृश्य नेपालका राजनीतिक इतिहासका लागि अविस्मरणीय रह्यो ।
किनभने, आचार्यका सहकर्मी रामहरि शर्मा भन्छन्, ‘मलाई र टंकप्रसादजीलाई बाहुन भएका कारण ज्यान सजाय दिइएन, हामीलाई चारपाटे मुडी दामल सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो ।’
राणा शासकहरूले आचार्य र शर्मालाई तोकेको सजायअनुसार ‘दामल’ गरियो कि गरिएन त ? ‘दामल’ शब्दका भिन्नाभिन्नै परिभाषाका कारण यसबारे प्रश्न उठ्ने हुन सक्छ । चारपाटे मुडी सर्वस्वसहित जन्मकैदको सजाय दिइएकोमा शंका छैन, ‘दामल’ दण्ड दिइयो कि दिइएन भन्ने सवालको जवाफ खोज्न सही परिभाषा र अभ्यास खोतल्नु जरुरी हुन्छ । यो खोतलखातल खासमा आचार्य र शर्मालाई तोकिएको ‘अंश सर्वस्व, मुडी, दामल’ सजायको निहुँमा नेपालमा प्रचलित शरीरमा खोप्ने दण्डको ऐतिहासिक अध्ययन गर्ने जमर्को मात्रै हो ।
दामल (डामल) को अर्थ
आचार्य र शर्माका सहकर्मी गणेशमान सिंहको विचारमा, त्यतिबेलाको कानुनी प्रचलनअनुसार दामल सजाय पाएपछि व्यक्ति स्वत: जातिच्युत र जन्मकैदको भागीदार हुन्थ्यो । किनभने, ‘दामलको अर्थ हुन्थ्यो– अंश सर्वस्वसहित जन्मकैद गर्ने र मुडेर जातिच्युत गर्ने सजाय (सिंह २०५८:९५) ।’ धेरैजसो इतिहासकार र कानुनका ज्ञाताहरू भने दामल (डामल) सजायबारे सिंहको परिभाषाको एउटा पक्षसँग सहमत देखिँदैनन् । त्यो पक्ष हो, दामल गर्दा व्यक्तिको शरीरमा खोपिन्छ कि खोपिँदैन भन्ने प्रश्न । अध्येताहरू टोपबहादुर सिंह, डा. कृष्णकान्त अधिकारी, डा. तुलसीराम वैद्य, डा. त्रिरत्न मानन्धर, प्रकाश वस्ती, विशाल खनालले दामल वा डामललाई शरीरमा डाम्ने अर्थमा बेसी प्रयोग गरेका छन् । उनीहरूका अनुसार, ठूला अपराधमा दामल गर्दा शरीरमा चिह्न रहने गरी अक्षर खोद्दै जात पतित गर्ने, चार पाटा मुड्ने, जन्मकैद गर्ने वा सर्वस्वसहित जन्मकैद
शब्दकोशकारहरू राल्फ टर्नर, बालचन्द्र शर्मा पोखरेल र अन्य, हर्षनाथ भट्टराई, वसन्तकुमार शर्म्मा ‘नेपाल’, डा. शंकरकुमार श्रेष्ठले आ–आफ्ना शब्दकोशमा दामललाई शरीरमा चिह्न रहने गरी अक्षर खोद्दै जन्मकैदको सजाय दिने कुरा लेखे पनि जात पतित गर्ने सजायबारे संकेत गरेको पाइँदैन । सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा ज्यानको बदला ज्यानै लिने ऐनमा भइरहेकोमा ज्यान सजायको सट्टामा दामल गर्नुलाई गालामा दामल भन्ने तीन अक्षर खोपी सर्वस्व गरी आजीवन कारावासको अर्थमा परिभाषित गरेका छन् । रजितभक्त प्रधानाङ्गले दामल शब्दलाई जन्मकैदका रूपमा मात्रै व्याख्या गरेका छन् भने टोपबहादुर सिंहले चाहिँ दामलसँग गाँसिएको जन्मकैदको कुरा छुटाएर परिभाषित गरेका छन् । जबकि यस सजायसँग जात पतित गर्ने वा तल्लो जातमा खसाल्ने दण्ड पनि जोडिएको छ, मार्न नमिल्ने (अबध्य) र मुडिने जात (ब्राह्मण) र अबध्य लिङ्ग (महिला) सँग सम्बन्धित अपराधीलाई मृत्युदण्डको सट्टा जन्मकैद गर्ने प्रचलन पनि गाँसिएको छ । इतिहासकार एम.एस. जैनले ‘द इमर्जेन्स अफ अ न्यु अरिस्टोक्रेसी इन नेपाल’मा दामल शब्दको ‘द’ अक्षर बायाँ गालामा खोप्ने गरी दिइने दामललाई मृत्युदण्डभन्दा कम सजायका रूपमा व्याख्या गरेका छन् । र, यो सजाय ‘ज्यानको बदला ज्यान सजाय’ दिने मुलुकी ऐन, १९१० को सामान्य सिद्धान्तको अपवादका रूपमा ब्राह्मण र महिलालाई मृत्युदण्डको सट्टा दिइने दण्डका रूपमा टिप्पणी गरेका छन् । मुलुकी ऐन–१९१० अनुसार, ज्यान मारेको अपराधमा पनि ब्राह्मणलाई सर्वस्वसहित दामल गरिने र महिलालाई दामल मात्रै गरिने जैनको जिकिर छ (जैन सन् १९७२:१६३,१६८) ।
बाहुन भएर बाँचिस्, नत्र हेर्, तेरो छाला काडेर चौटाचौटा पारेर कौवा, चील र गिद्धलाई ख्वाउँथें, बुझिस् । तर के गर्नु, बाहुन भएर बाँचिस्’, १९९७ सालमा प्रजातन्त्रका योद्धा टंकप्रसाद आचार्यलाई हेरेर बहादुर शमशेर रिसको आवेगले काम्दै मुर्मुरिएको दृश्य नेपालका राजनीतिक इतिहासका लागि अविस्मरणीय रह्यो ।
किनभने, आचार्यका सहकर्मी रामहरि शर्मा भन्छन्, ‘मलाई र टंकप्रसादजीलाई बाहुन भएका कारण ज्यान सजाय दिइएन, हामीलाई चारपाटे मुडी दामल सर्वस्वसहित जन्मकैदको सजाय सुनाइयो ।’
राणा शासकहरूले आचार्य र शर्मालाई तोकेको सजायअनुसार ‘दामल’ गरियो कि गरिएन त ? ‘दामल’ शब्दका भिन्नाभिन्नै परिभाषाका कारण यसबारे प्रश्न उठ्ने हुन सक्छ । चारपाटे मुडी सर्वस्वसहित जन्मकैदको सजाय दिइएकोमा शंका छैन, ‘दामल’ दण्ड दिइयो कि दिइएन भन्ने सवालको जवाफ खोज्न सही परिभाषा र अभ्यास खोतल्नु जरुरी हुन्छ । यो खोतलखातल खासमा आचार्य र शर्मालाई तोकिएको ‘अंश सर्वस्व, मुडी, दामल’ सजायको निहुँमा नेपालमा प्रचलित शरीरमा खोप्ने दण्डको ऐतिहासिक अध्ययन गर्ने जमर्को मात्रै हो ।
दामल (डामल) को अर्थ
आचार्य र शर्माका सहकर्मी गणेशमान सिंहको विचारमा, त्यतिबेलाको कानुनी प्रचलनअनुसार दामल सजाय पाएपछि व्यक्ति स्वत: जातिच्युत र जन्मकैदको भागीदार हुन्थ्यो । किनभने, ‘दामलको अर्थ हुन्थ्यो– अंश सर्वस्वसहित जन्मकैद गर्ने र मुडेर जातिच्युत गर्ने सजाय (सिंह २०५८:९५) ।’ धेरैजसो इतिहासकार र कानुनका ज्ञाताहरू भने दामल (डामल) सजायबारे सिंहको परिभाषाको एउटा पक्षसँग सहमत देखिँदैनन् । त्यो पक्ष हो, दामल गर्दा व्यक्तिको शरीरमा खोपिन्छ कि खोपिँदैन भन्ने प्रश्न । अध्येताहरू टोपबहादुर सिंह, डा. कृष्णकान्त अधिकारी, डा. तुलसीराम वैद्य, डा. त्रिरत्न मानन्धर, प्रकाश वस्ती, विशाल खनालले दामल वा डामललाई शरीरमा डाम्ने अर्थमा बेसी प्रयोग गरेका छन् । उनीहरूका अनुसार, ठूला अपराधमा दामल गर्दा शरीरमा चिह्न रहने गरी अक्षर खोद्दै जात पतित गर्ने, चार पाटा मुड्ने, जन्मकैद गर्ने वा सर्वस्वसहित जन्मकैद गर्ने चलन थियो ।
शब्दकोशकारहरू राल्फ टर्नर, बालचन्द्र शर्मा पोखरेल र अन्य, हर्षनाथ भट्टराई, वसन्तकुमार शर्म्मा ‘नेपाल’, डा. शंकरकुमार श्रेष्ठले आ–आफ्ना शब्दकोशमा दामललाई शरीरमा चिह्न रहने गरी अक्षर खोद्दै जन्मकैदको सजाय दिने कुरा लेखे पनि जात पतित गर्ने सजायबारे संकेत गरेको पाइँदैन । सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा ज्यानको बदला ज्यानै लिने ऐनमा भइरहेकोमा ज्यान सजायको सट्टामा दामल गर्नुलाई गालामा दामल भन्ने तीन अक्षर खोपी सर्वस्व गरी आजीवन कारावासको अर्थमा परिभाषित गरेका छन् । रजितभक्त प्रधानाङ्गले दामल शब्दलाई जन्मकैदका रूपमा मात्रै व्याख्या गरेका छन् भने टोपबहादुर सिंहले चाहिँ दामलसँग गाँसिएको जन्मकैदको कुरा छुटाएर परिभाषित गरेका छन् । जबकि यस सजायसँग जात पतित गर्ने वा तल्लो जातमा खसाल्ने दण्ड पनि जोडिएको छ, मार्न नमिल्ने (अबध्य) र मुडिने जात (ब्राह्मण) र अबध्य लिङ्ग (महिला) सँग सम्बन्धित अपराधीलाई मृत्युदण्डको सट्टा जन्मकैद गर्ने प्रचलन पनि गाँसिएको छ । इतिहासकार एम.एस. जैनले ‘द इमर्जेन्स अफ अ न्यु अरिस्टोक्रेसी इन नेपाल’मा दामल शब्दको ‘द’ अक्षर बायाँ गालामा खोप्ने गरी दिइने दामललाई मृत्युदण्डभन्दा कम सजायका रूपमा व्याख्या गरेका छन् । र, यो सजाय ‘ज्यानको बदला ज्यान सजाय’ दिने मुलुकी ऐन, १९१० को सामान्य सिद्धान्तको अपवादका रूपमा ब्राह्मण र महिलालाई मृत्युदण्डको सट्टा दिइने दण्डका रूपमा टिप्पणी गरेका छन् । मुलुकी ऐन–१९१० अनुसार, ज्यान मारेको अपराधमा पनि ब्राह्मणलाई सर्वस्वसहित दामल गरिने र महिलालाई दामल मात्रै गरिने जैनको जिकिर छ (जैन सन् १९७२:१६३,१६८) ।
पूर्वन्यायाधीश टोपबहादुर सिंहको ‘कानुनी शब्दकोश’ अनुसार, दामलको मतलब हो : दायाँ गालामा चिह्न रहने गरी ‘दामल’ भन्ने तीन अक्षर खोदी जात पतित गर्ने सजाय । मुलुकी ऐन, १९९२ को ‘ज्यान लिँदा, मुड्दा, दामल गर्दाको’ नं. ५ अनुसार, ‘पानी नचल्ने र छिटो हाल्नुपर्ने जातमा मिलाउँदा सोही जातका १ अक्षर पिँडौलामा चिह्न रहने गरी खोपी र अभक्ष्य खुवाई छोड्ने कार्य हो– दामल (सिंह २०७६:२४०) । सिंहले दायाँ गाला भने तापनि मुलुकी ऐन– १९१० मा खासमा बायाँ गालामा दामल अक्षर खोदिने प्रचलन रहेको र जात पतित गर्दा पिँडौलामा अक्षर खोपिने चलन रहेको पाइन्छ । अधिकारी, वैद्य, मानन्धर र वस्तीका अनुसार अपराधीहरूलाई भौतिक रूपले चिनो लगाएर सजाय दिने व्यवस्था मुलुकी ऐनमा मात्रै रहेको देखिँदैन, बरु यो निकै प्राचीन प्रचलन हो । मनु र याज्ञवल्क्यजस्ता हिन्दु धर्मका प्राधिकार व्यक्तिले अवैध यौनसम्बन्ध, चोरी र डकैतीजस्ता अपराधमा पिँडुला वा निधारमा कुकुरको खुट्टाजस्ता चिह्न अंकित गर्ने प्रक्रिया ठेकेका थिए (अधिकारी सन् १९८४:२७७–२७८) ।
दामल र दायमुल हब्स
दामल/डामल पद मुलुकी ऐनमा अत्यधिक रूपमा प्रयोग भएको छ, जुन मूल रूपमा ज्यान, करणी, राजकाजका अपराधमा दण्डस्वरूप शरीरमा खोप्ने सजायका रूपमा, ब्राह्मण र महिलाको हकमा भने मृत्युदण्ड दिनुको सट्टा खोपेर जन्मकैद गर्ने अर्थमा बुझ्ने–बुझाइने गरिएको देखिन्छ । २०२२ सालमा श्री ५ को सरकार, कानुन तथा न्याय मन्त्रालयद्वारा छापिएको ‘श्री ५ सुरेन्द्रविक्रम शाहदेवका शासनकालमा बनेको मुलुकी ऐन’ मा २६९ ठाउँमा दामल–दामल् शब्द प्रयोग भएको पाइन्छ । तर, १९१० मा लिखित मुलुकी ऐन र त्यसका अनेक संशोधनमा पनि दामल शब्दको प्रस्ट व्याख्या गरिएको देखिएन । ज्यान सजाय पाउने निश्चित वर्ण–जात–लिङ्ग–गोत्रका अपराधीलाई दामल मात्रै गर्ने सम्बन्धमा १९८८ सालमा जारी भएको भीमशमशेरको सनदमा भने दामलबारे अलिक व्याख्या पाइन्छ । सनदको व्याख्या हेर्दा मनु र याज्ञवल्क्यहरूले बनाएको हिन्दुधर्म शास्त्रको वचनअनुसार प्राणदण्ड दिनुभन्दा अक्षर अङ्कित आजन्म कारागार बास गर्नु भनेको नै दामल गरी जन्मभर कैद राख्नु हो भन्ने देखिन्छ (मुलुकी ऐन २००९:२४२, वस्ती २०७९:४३४) ।
दामल शब्द भने अरबी भाषाको ‘दायमुल हब्स’ (दाइमुल्ह हब्स) बाट आएको देखिन्छ, जसको अर्थ जन्मकैद, जीवनभरका लागि कैद वा कालापानीको सजाय हो (पोखरेल र अन्य २०४०:६४५, शर्म्मा ‘नेपाल’ २०५७:६५८) । त्यस्तै, भारतमा हिन्दी भाषामा ‘डामिल’ वा ‘डामल’ पनि भन्ने गरिन्छ भने नेपाली भाषामा पनि प्रचलित डामल शब्दको व्युत्पति डाम शब्द र डाम्नुजस्ता मूल क्रियापदसँग जोडिन्छ । दायमुल हब्स, दामल/डामलको अर्थ आजीवन कारावासको दण्ड र देशनिर्वासन मानिएको छ (प्रसाद, सहाय र श्रीवास्तव सन् १९९२:४५५,५१६) ।
दक्षिण एसियामा, त्यसमा पनि नेपालमा हिन्दु धर्मशास्त्रले तोकेका विधिअनुसार सजाय दिँदा दामल/डामल शब्दले शरीरमा डामेर जन्मकैद दिने अर्थमा अभ्यास भएको हुन सक्छ र यो जात–लिङ्गअनुसार दिइने भिन्नाभिन्नै सजायको एक अभिन्न अंग भएको हुन सक्छ । डामेर आजीवन कारावासको सजाय दिने प्रचलन अन्य समाजमा पनि नभएको होइन, तर हिन्दु धर्मशास्त्र अभ्यास गर्ने नेपालको हिन्दूकृत वैधानिक र कानुनी परम्पराको विशेषता पनि हुन सक्छ ।
दामलको अभ्यास र इतिहास
यस परम्परा र अभ्यास खोतल्दै इतिहासकार कृष्णकान्त अधिकारी ‘नेपाल अण्डर जंगबहादुर : १८४६–१८७७’ मा लेख्छन्, ‘उन्नाइसौं शताब्दीको नेपाली कानुनअनुसार बाह्र वर्षसम्मका व्यक्तिलाई नाबालिग मानिन्थ्यो । वास्तवमा आकस्मिक रूपमा सही, त्यस्ता नाबालिग व्यक्तिको हत्या भएको छ भने त्यसलाई सधैं जानी–जानीकन गरिएको हत्या समान मानिन्थ्यो । त्यस्तो हत्याका अपराधी गैर–ब्राह्मण पुरुष भए उसलाई मृत्युदण्ड दिइन्थ्यो । तर, ब्राह्मण र महिलालाई भने मृत्युदण्ड दिइँदैनथ्यो । ब्राह्मण र सबै जातका महिलालाई दामलको सजाय मात्रै दिइन्थ्यो, ब्राह्मण पुरुषको हकमा सर्वस्व हरण पनि गरिन्थ्यो । दामल गरीकन दण्ड दिनु भनेको अपराधीको बायाँ गालामा नेपाली शब्द दामलको पहिलो अक्षर अंकित गर्नु हो । तातो फलामले डामेर दामल गर्नुको अर्थ मृत्युदण्डपछिको दोस्रो सबैभन्दा ठूलो सजायका रूपमा लिइन्थ्यो (अधिकारी सन् १९८४:२७७–२७८) ।’
१९१० सालको मुलुकी ऐनभन्दा अघिका अभ्यास हेर्दा त्यसको ३१ वर्षअघि नै ‘दमल’ सँगै ‘दमलुस/दम्लुस/दमलुस्’ शब्द पनि प्रयोग भएको देखिन्छ । भीमसेन थापाका भतिजा कर्णेल उजिरसिंह थापाले पाल्पाका प्रमुख हुँदा १८७९ चैत्रमा जारी गरेको जंगी तथा निजामती स्थिति बन्देजमा ५ ठाउँमा दमलुस सजाय तोकिएको पाइन्छ । राजेश्वर थापाका अनुसार, ‘कसैलाई जातदेखि पतित गर्याको छ उस्लाई जान्न्याहरूले बारना गर्दछन् उस् जगादेषि अंत गयो भन्या त म पतित् भयाको छु भनि आफु कहदैन अरुले थाहा पाउदैनन् र पानीमा सभैलाई बोर्छ तसर्थ जात पतित हुन्या पानी नचल्न्या बिराउ गर्यो भन्या उसको निधारमा दम्लुस् गरिदिनु भन्याको गोदना गोदि अक्षर लेषिकन छोड्नु उसै नछोड्नु.....(थापा २०६४:११४) ।’
‘छुन पनि नहुन्या कामि, सार्कि दमाइ भाड गैरह जातका रज भयानभयाका सधवा बीधवा कन्या जस्तैसुषै भए पनि उभो जातले बिरायेछ, भातपानिमा बोरेछ भन्या जातअन्सार जिउ मारिदिनु भातपानिमा अरू कसैलाई बोरेनछ भन्या दमलुस गरी उसै जातमा मिलाई दिनू (थापा २०६४:११८) ।’
दामलको इतिहास पल्टाउँदै जाँदा, एकातिर पृथ्वीनारायण शाह र उनको पुर्खा राम शाहसम्मको शासनकालमा पुगिन्छ, अर्कोतिर जयस्थिति मल्लको राज्यसम्म पनि पुगिने रहेछ । पृथ्वीनारायण शाहको शासनमा विशेष गरी पञ्चखतमा दिइने दण्डको कानुनी व्यवस्थाबारे डा. जगदीशचन्द्र रेग्मी ‘नेपालको वैधानिक परम्परा’ मा लेख्छन्, ‘पञ्चखत मुद्दामा परिबन्द र प्रमाण पुगेमा– १) प्राणदण्ड हुने, २) गालामा डामी जन्मकैद गरिने, ३) टुपीसमेत मुडेर जात पतित गरी जिल्ला वा राज्यबाट निकाला गरिने, ४) घटी जातमा मिलाई छाडिने र ५) जातबाट पतित गराई दण्ड गरिने जस्ता मुद्दा पर्दथे (रेग्मी २०३६:२०१) ।’
पञ्चखतमा घटी–बढी जातअनुसार सजाय थपघट हुने परम्परालाई पृथ्वीनारायण शाहले निरन्तरता दिएका थिए । निश्चित जातका मानिसलाई हलुका वा कडा सजाय दिने शाहकालीन परम्परा र अभ्यासबारे ‘नेपालको कानुनी इतिहासको रूपरेखा’ मा अध्येता रेवतीरमण खनालको विश्लेषण छ, ‘ज्यानमारालाई काटी मारिदिने सामान्य नियम थियो । तर ब्राह्मण, सन्यासी, जोगी, बैरागी र जनानाहरूले ज्यान मारे पनि उनीहरूलाई मृत्युदण्ड नभई अक्षर खोदी जन्मकैद वा देश निकाला गरिन्थ्यो । केही जातिमा आफ्नी स्वास्नी जारी गरी लाने जारलाई काटी मार्न पाउने कानुनी व्यवस्था थियो । तर, ब्राह्मण आदि अबध्य जातलाई काट्न नपाउने र बरु गाउँ निकाला आदि हलुका सजाय गर्ने र जारबाट विवाह खर्च भराई कैद गराउने व्यवस्था थियो (खनाल २०५९:९१) ।’
पृथ्वीनारायण शाहका विधि, विधान र व्यवहारको नेपथ्यमा उनका पुर्खा राम शाहले बाँधेको थिति रहेको देख्न सकिन्छ, जसमा थप जात र समुदायलाई मृत्युदण्डको सट्टा दामल गरिने प्रावधान प्रस्ट लेखिएको पाइन्छ । खनालका अनुसार, ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उखान नै बनाउन सफल भएका राम शाहको पन्ध्रौं स्थितिमा ज्यान जाने अपराध गरे पनि चौतरिया भाइ सगोल बन्धु, ब्राह्मण, वैरागी, सन्यासी, भाट र स्त्रीलाई प्राण–दण्ड नदिनू, मुडी देश निकाला गर्नु भन्ने प्रावधान छ । उनी थप लेख्छन्, ‘ब्राह्मणलाई सर्वस्व गरी मुडी देश निकाला गरेपछि मृत्युदण्ड दिएसरह हुन्छ । गुरु, बालक, वृद्ध, स्त्री, योगी, सन्यासी, वैरागीलाई मृत्युदण्ड दिनु हुँदैन, अरू नै दण्ड दिनुपर्छ । यीबाहेक अरू प्रकारका आततायी र मृत्युदण्ड हुने अपराध गर्ने अपराधीलाई विचार गरी मृत्युदण्ड दिनुपर्छ भन्ने धर्मशास्त्रमा व्यवस्था भएकाले श्री ५ रामशाहले गोत्र–बन्धुलाई मृत्युदण्ड दिए गोत्र हत्या लाग्ने, नमारेमा अपराधीलाई दण्ड नदिएको प्रत्यवाय (धर्मशास्त्रहरूले तोकेका नित्य कर्म नगर्नाले लाग्ने पाप) लाग्ने हुनाले देश निकाला गरे पनि मृत्युदण्ड दिएसरह हुने भएकाले त्यो व्यवस्था गरेका थिए । ब्राह्मणलाई मृत्युदण्ड दिए ब्रह्महत्याको प्रत्यवाय लाग्ने हुनाले मुडी देश निकाला गरे पनि सो दण्डसरह भएकाले मुडी देश निकाला गर्नु र वैरागी सन्यासी भेष लिएका पनि अबध्य छन् भनी यस्तो स्थिति गरिएको हो भनी स्पष्ट गरिएको थियो (खनाल २०५९:६३–६४) ।’
निधारमा मुर्कट्टा चिह्न खोप्नू
राम शाहअघि नै नेपाल मण्डलमा जय स्थिति मल्लले धर्मशास्त्रका आधारमा स्थिति बाँधेका थिए । मल्लको थितिको पृष्ठभूमिमा ‘नारद संहिता’ को आधारमा लेखिएको र व्याख्या गरिएको ‘न्यायविकासिनी’ रहेको छ । त्यसमा विष र हतियारजस्ता सामानको व्यापार गर्ने, विष र हतियारजस्ता सामान प्रयोगमा ल्याई हत्या गर्ने, परस्त्रीहरूलाई हातपात गर्ने एवम् अरू प्राणघाती क्रियाकलाप गर्ने जस्ता अपराधमा जातअनुसार भिन्नाभिन्नै सजाय दिने परम्परा लेखिएको छ । यसमा नकाटिने जातलाई दिइने दण्ड दामल पनि रहेको तथ्य प्रकाश वस्तीले ‘न्यायविकासिनी’ पल्टाउँदै देखाएका थिए ।
शान्तहर्ष वज्राचार्य र दिनेशराज पन्तले अलग–अलग रूपमा ‘न्यायविकासिनी’ को सम्पादन गरेका थिए । वस्तीले देखाएको बुँदाबारे ‘न्यायविकासिनी’ मा पन्तको व्याख्या छ, ‘ब्राह्मणले गुरुतुल्यगमन (आमा, सानीआमा, गुरुमा, भाउजू, छोरी र दिदीबहिनी जस्ता व्यक्तिहरूसँग सम्भोग) गरेमा, मदिरा पिएमा, चोरी गरेमा, ब्राह्मणलाई मारेमा वा भ्रूणहत्या गरेमा उनका शरीरमा खोपेर नमेटिने गरी दाग लगाइदिनू । गुरुतुल्यगमन गरेमा उनका निधार आदि देखिने अंगमा स्त्रीयोनिको चिह्न बनाइदिनू । चोरी गरेमा कुकुरको पाइलाको चिह्न बनाएर नमेटिने गरी डाभिदिनू । ब्रह्महत्या गरेमा वा भ्रूणहत्या गरेमा उनका निधारमा शिर नभएका शरीरको चिह्न खोप्न लगाउनू । ऊसँग कसैले बोल्न र कुरा गर्न निषेध गरिदिनू । यो मनुको आदेश हो (पन्त २०६५:२९१) ।’
न्यायविकासिनीको संस्कृत श्लोकसँग मिल्दोजुल्दो श्लोक नारदस्मृति, मनुस्मृति र याज्ञवल्क्यस्मृतिमा पनि रहेछ । दिनेशराज पन्तका अनुसार मनुस्मृति, याज्ञवल्क्यस्मृति, विष्णुस्मृति, आपस्तम्बस्मृति, गौतमस्मृति, वसिष्ठस्मृति, बौधायनस्मृतिसँग नारदस्मृतिका विभिन्न श्लोकको तुलना हुन्छ भनी युलियस योल्लि, रिचार्ड डब्ल्यू. लारिभियरे आदि विद्वान्ले लेखेका छन् । यस कारण ती स्मृतिसँग नारदस्मृतिको तुलनात्मक अध्ययनका साथै तिनीहरूसँग न्यायविकासिनीको पनि तुलनात्मक अध्ययन गर्न सकियो भने त्यसले नेपालको न्यायक्षेत्रको इतिहासमा महत्त्वपूर्ण प्रकाश पर्ने पन्तको विश्वास छ (पन्त २०६५:पृष्ठ उल्लेख नभएको वक्तव्य) ।’
तुलसीराम वैद्य र त्रिरत्न मानन्धरले ‘क्राइम एन्ड पनिशमेन्ट इन नेपाल: अ हिस्टोरिकल पर्सपेक्टिभ’ मा विभिन्न हिन्दु धर्मशास्त्र अनुसार निर्माण भएका थिति, कानुन र ऐनको विश्लेषणसँगै तिनका अभ्यासको चिरफार गरेका छन् । यस किताबमा मूल रूपमा लिच्छवि शासनदेखि राणा शासनसम्मको करिब दुई हजार वर्षमा मूलत: पाँच थरी अपराध र तिनका भिन्नाभिन्नै दण्ड व्यवस्थाबारे विश्लेषण गरिएको छ । राजा र राज्य विरुद्धको अपराध, शरीर विरुद्धको अपराध, राष्ट्रिय र व्यक्तिगत सम्पत्ति विरुद्धको अपराध, यौन अपराध र धर्म विरुद्धको अपराधमा दिइने सजायको विश्लेषण गर्दै प्रस्टै लेखिएको देखिन्छ : ‘नेपालमा लामो समयसम्म अपराधअनुसार सजाय होइन, अपराधीको जात र लिङ्गअनुसार दण्ड चलन चल्यो । विभिन्न स्मृतिमा तोकिएको दामल गर्ने वा शरीरमा खोप्ने सजाय राज्यले विधान बनाएर कसरी लागू गर्यो भन्ने कुरा खोतल्ने क्रममा देखिएको मुख्य पक्ष हो : धर्मशास्त्रद्वारा अबध्य मानिएका ब्राह्मण र महिलालाई मृत्युदण्डको सट्टा दामल गर्ने, जात पतित गर्ने, सुँगुरको मासु खुवाउने, सहर घुमाउने अनि देशनिकाला गर्ने चलन लामो समयदेखि प्रचलित रह्यो ।’
‘क्राइम एन्ड पनिशमेन्ट इन नेपाल’ मा विभिन्न प्रकारका सजायको व्याख्या गर्ने क्रममा हप्काउने वा चेताउने, कडासँग डाँट्ने, आर्थिक दण्ड दिने, अंग–भंग गर्ने र ज्यान मार्ने सजायसँगै शरीरमा खोप्ने, टाउको मुड्ने र देशनिकाला गर्ने तथ्य दिइएको छ । तीमध्ये दामल गर्ने चलनबारे लेखिएको छ, गोदना गर्ने वा खोप्ने सजायको मुख्य उद्देश्य अपराधीलाई बदनाम गराउनु हो, जसले गर्दा ऊ जहाँसुकै गए पनि उसको शरीरमा खोपिएको कलंकको आधारमा परिचित होस् । यस्तो सजाय नेपाल र भारतमा मात्र नभई बेलायत र प्राचीन रोमजस्ता युरोपेली देशमा पनि दिइन्छ । सत्रौं शताब्दीसम्म इङ्ल्यान्डमा अन्य अपराधका लागि हत्याराहरूलाई ‘एम’, चोरहरू र अरूलाई ‘टी’ अक्षर खोपिन्थ्यो । भागेका दासहरूलाई पनि खोपिन्थ्यो । नेपालमा पनि दामल गर्ने प्रचलन धेरै थियो (वैद्य र मानन्धर सन् १९८५:१४–१५) ।
‘अंश सर्वस्व, मुडी, दामल’
१९१० सालको मुलुकी ऐनले हत्याका अपराधीलाई पहिलेदेखि दिइने सजायमा नयाँ मोड ल्यायो । त्यो मोड हो, ज्यानको मुद्दामा देशनिकाला गर्ने सजायको व्यवस्थालाई पूरै निषेध गरीकन बायाँ गालामा खोपेर जन्मकैदको सजायले पुन:स्थापन गर्ने क्रम, जसलाई दामल गर्ने भन्ने गरिन्छ (वैद्य र मानन्धर सन् १९८५:२०८) । देशनिकालाको सट्टा दामल गरिनु मुलुकी ऐनले ल्याएको ठूलो परिवर्तन हो । यसै क्रममा लामो समयसम्म निश्चित जात र लिङ्गलाई धेरैजसो दामल गरिन्थ्यो, धेरैलाई मारिन्थ्यो । ब्राह्मण, सन्यासी र स्त्री जातिले ज्यान सजाय हुने कसुर गरेमा दामलसम्म हुने गर्थ्यो, अरू वर्ण–जात–लिङ्गका मानिसले गरे ज्यानै सजाय हुन्थ्यो । यस्तो अवस्थामा ज्यान सजायमा सुधारका राणा शासनकालमै केही प्रयास भएका थिए ।
त्रिरत्न मानन्धरको अप्रकाशित पुस्तक ‘देवशमशेर र तात्कालिक नेपाल’ मा शरीरका विभिन्न अंगमा खोप्ने चलन देवशमशेरकै पालादेखि घट्दै गएको संकेत गरिएको छ । उक्त पुस्तकअनुसार, १९५७ फागुनदेखि १९५८ असारसम्म शासन गर्न पाएका देव शमशेरको सरकारले ‘गोर्खापत्र वर्ष १, अंक ३’ मा प्रकाशित गरेको सूचनामा आँखीभौं र दाह्रीजुंगा खौरिएका पुरुष र आँखीभौं मात्रै खौरिएका महिला सार्वजनिक रूपमा देखिएमा उनीहरूबारे सरकारलाई सूचित गर्न आदेश दिइएको छ । यसरी आँखीभौं र दाह्रीजुंगा खौरिएका व्यक्तिहरू झ्यालखानाबाट भागेका कैदी हुने भएकाले उनीहरूलाई गिरफ्तार गर्न ‘गोर्खापत्र’ मा सूचना जारी गरिएको देखिन्छ । मानन्धरको मतअनुसार, देवशमशेरको समयमा शरीरका विभिन्न अंगमा खोप्ने चलन बहुप्रचलित रहेको भए भगुवा कैदीहरूसम्बन्धी सूचनामा पनि शरीरमा टड्कारो देखिने चिनोको कुरा खुलाएरै सूचना जारी गरिन्थ्यो होला । ज्यान सजाय दिइएको दृश्य नै देखेका एच.ए. ओल्डफिल्डलगायत विदेशी लेखकले पनि दामल गरिएको तथ्य लेखेको नदेखिएको र वीरशमशेरको पालामा संशोधन गरिएका पाँच भागे मुलुकी ऐनमा पनि कम जोड दिइएको अवस्थामा राणाकालमै यसको अभ्यास कम हुँदै गएको मानन्धरको अनुमान छ ।
ज्यान सजायमा सुधारका लागि भीमशमशेरबाट १९८८ सालमा, जुद्धशमशेरबाट १९९३ र १९९९ सालमा सनद जारी गरिएको थियो । २००३ सालमा पद्मशमशेरले मुलुकी ऐनमा संशोधन नै गरी मृत्युदण्डलाई निषेध गर्ने सनदको सदर गरेका थिए । यसबाट गद्दी, राजकाज र जंगी अपराधमा बाहेक अरू कुनै पनि मुद्दामा मृत्युदण्ड नदिइने भयो (मुलुकी ऐन २००९:२४२, वस्ती २०७९:४३२–४३४४) । ठीक त्यही अवधिमा १९९७ सालको प्रजा परिषद्को विद्रोह भएको थियो, विद्रोहीहरूमाथि जातअनुसार कडाभन्दा कडा सजाय सुनाइएको थियो, तीन जना नेवार र एक क्षेत्रीलाई मृत्युदण्ड दिइएको थियो । र, टंकप्रसाद पाध्याय (आचार्य) र रामहरि पाध्याय (शर्मा) जस्ता उनीहरूका नेता र सहकर्मीलाई ‘अंश सर्वस्व, मुडी, दामल’ सजाय तोकिएको थियो । उनीहरूका सहकर्मीमध्ये धर्मरत्न यमिले ‘नेपालका कुरा’ मा दुवै जनालाई दामल नगरिएको लेखेका छन् (यमि २०१४: २१५) भने गणेशमान सिंहले ‘मेरो कथाका पानाहरू खण्ड १’ मा चाहिँ दामल गरिएको बोलेका छन् (सिंह २०५८: ९५–९७) ।
उनीहरूलाई चारपाटे मुडिएको, जात पतित गरिएको, सहर घुमाइएको र आजीवन कारावासको सजाय दिइएकोमा कुनै शंका छैन । दामललाई अरबी भाषाको अर्थमा मात्रै सीमित गरेर हेर्दा उनीहरूलाई जन्मकैदसहित अन्य सजाय दिइएको भन्न मिल्छ, जहाँसम्म हिन्दु धर्मशास्त्रको ठेट अर्थ र नेपाली राज्यको लामो ऐतिहासिक अभ्यास हेर्दा शरीरमै खोपेर दामल गरिएको भन्न मिल्दैन । बरु निधार, गाला र पिँडौलाजस्ता शरीरका विभिन्न अंगमा अक्षर खोद्दै जन्मकैद गर्ने खालको ‘हलुका सजाय’ लाई थप सुधारका साथ लागू गरिएको भन्न मिल्छ । किनभने गैर–ब्राह्मणहरूलाई मृत्युदण्ड दिइने अपराधमा ब्राह्मणलाई चारपाटे मुड्ने, जनै चुँडाल्ने, सुँगुरको मासु खुवाउने, जातच्युत गर्दै सामाजिक हैसियत झार्ने, सार्वजनिक रूपमा अपमानित गर्ने तथा देशनिकाला गर्ने सजाय आफैंमा मृत्युदण्ड सरह हो भन्ने धर्मशास्त्रकै लचिलो व्याख्या यहाँ लागू गरिएको हुन सक्छ । यसरी सुधार्दै गरिएको दामल सजाय ‘नयाँ मुलुकी ऐन’ बनाइएपछि २०२१ सालसम्म पनि जन्मकैदका रूपमा लागू भएको अदालती प्रमाण देखिन्छ । यस अर्थमा नेपालमा लागू भएको अपराध अनुसार सजाय होइन, जातअनुसार सजाय गर्ने ऐन र अभ्यास जति हदसम्म अध्ययनको विषय हो, त्यत्तिकै अनुसन्धान र विमर्शको मुद्दा हो– दामल पनि । यी विषयमा अध्ययन, अनुसन्धान र चिन्तनका लागि आग्रह गर्न चाहन्छु ।
(धन्यवाद : डा. त्रिरत्न मानन्धर, प्रकाश वस्ती, अशोक गुरुङ)
साभारः कान्तिपुर